tealaya add

काठमाडौं – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २ –१ ले विजयी भएको हो ।

नेपालको लागि खेलको अन्त्यतिर सुमन लामाले विजयी गोल गरेका हुन् । खेलको १२ औं मिनेटमा बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा क्वान्साइले बराबरी गोल गरेको थियो ।  यसअघि नेपालले जापानी क्लब गाम्बा ओसाकाको २३ वर्षमुनिको टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । जापान भ्रमणमा रहेको नेपाली टोलीले १७ अगस्टमा अमिटिज स्पोर्टस क्लबसँग र १८  अगस्ट मा हानन युनिभर्सिटी तथा १९ अगस्टमा भिसेल कोब को १८ वर्षमुनिको टोलीसँग खेल्नेछ ।

जापान गएको टोलीका प्राय खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन् । गोलकिपर किरण चेम्जोङ र रोहित चन्द विदेशमा लिग खेलिरहेकाले जापान जाने टोलीमा समावेश छैनन् । नेपाली टोलीको जापान भ्रमणलाई जापानको विदेश मन्त्रालय र जापान फुटबल संघले व्यवस्थापन गरेको छ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, डिफेण्डर विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी साथै मिडफिल्डर विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल छन् । फरवार्डमा अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्र्ती मगर, सुमन लामा समावेश छन् । 

एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेको नेपाल एक अंकसहित तेस्रो स्थानमा तथा अंकबिहीन ताजकिस्तान अंक तालिकाको अन्तिम स्थानमा छन् । समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार भोगेको थियो । त्यस्तै नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । समूह एफमा रहेको फिलिपिन्स ६ अंकका साथ शीर्षस्थानमा तथा चार अंक जोडेको यमन दोस्रो स्थानमा छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...