1478958692 banner ad format

 
 

नेपाल आर्मीलाई पराजित गर्दै संकटाले तिलोत्तमा गोल्डकप १९औं संस्करणको उपाधि जितेको छ । लगातार तेस्रो फाइनलमा आर्मीलाई पराजित गर्दा उसका स्टार निराजन खड्का नायक साबित भए ।

नेपाल आर्मीसँग १–० ले पछि परेको खेलमा उत्कृष्ट ‘कमब्याक’ गर्दै संकटाले नतिजा २–१ ले आफ्नो पक्षमा पा¥यो । संकटाले यस उपाधिसँगै वर्षको तेस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भयो । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा शनिबारको फाइनलमा संकटाका लागि दुवै गोल निराजन खड्काले गरेका थिए ।

३०औं मिनेटमा राजीव गुरुङले गोल गर्दा आर्मीलाई सुरुवाती अग्रता दिलाए, तर पहिलो हाफको अतिरिक्त समयमा खड्काले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा संकटा हाबी भएको थियो । परिणामतः उसले खेल सकिन ५ मिनेट बाँकी छँदा निर्णायक गोल गर्न सफल भयो । निराजनले निर्णायक गोल गरेपछि आर्मी संकटासँग तेस्रो फाइनलमा पराजय बेहोर्न बाध्य भयो ।

यसअघि चितवनको विकास रनिङ सिल्ड र गत महिना रुस्लान सिमरा गोल्ड फुटबल प्रतियोगिताको फाइनलमा पनि संकटाले आर्मीलाई हराएको थियो । यससँगै यो वर्ष घरेलु फुटबलका तीनवटा नकआउट प्रतियोगिता जित्ने संकटा तेस्रो क्लब बनेको छ । यसअघि त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले पनि तीनवटा उपाधि जितेका थिए ।

रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा १२ फागुनदेखि सुरु भएको प्रतियोगितामा भारतका दुई टोलीसहित १० टोलीको सहभागिता थियो । मोफसलमा धेरै पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा रहेको तिलोत्तमा गोल्डकपको विजेता संकटाले ५ लाख ५५ हजार ५ सय ५५ नगदसहित कप र मेडल प्राप्त गरेको छ ।

उपविजेत बनेको आर्मीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदमा चित्त बुझायो । विजेतालाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा मन्त्री श्रीपालीले मोफसलमा हुने गोल्डकपहरूले लामो समयसम्म आर्थिक संकट बेहोर्नुपरेको भन्दै अब सरकाले गोल्डकपको वर्गीकरण गर्दै आवश्यक बजेट विनियोजन गर्ने बताए । प्रतिष्ठित गोल्डकपमध्येको एक तिलोत्तमा गोल्डकप २०३३ सालबाट सुरु भए पनि पटकपटक आर्थिक अभाव र अन्य कारणले रोकिने गथ्र्यो । गत वर्षबाट प्रतियोगिताले पुनः निरन्तरता पाएको छ । यसपटक प्रतियोगितालाई अग्नि सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगितामा बेस्ट प्लेयर अफ द टुर्नामेन्टबाट अग्नि रूपन्देही ११ का टिम क्याप्टेन दीलिप क्षत्री घोषित भए । उनले नगद १५ हजारसहित स्कुटरसमेत प्राप्त गरे । त्यसैगरी, हाइ स्कोररमा आर्मीका दीप लामा, बेस्ट डिफेन्समा हिरण्य मगर, बेस्ट कोचमा संकटाका सल्याङ खड्गी, बेस्ट गोलकिपरमा संकटाकै विनय श्रेष्ठ, बेस्ट मिडफिल्डमा निराजन खड्का घोषित भए ।

उनीहरूले नगद १५ हजार प्राप्त गरे । सोही अवसरमा पूर्वखेलाडीहरू दयाराम सापकोटा, नन्दा थापा, अशोक पुन र कालिकुमार बास्कोटालाई समानसमेत गरिएको थियो । संघका अध्यक्ष दीर्घबहादुर केसीले प्रतियोगितामा ६८ लाख आम्दानी, ५७ लाख खर्च र ११ लाख २२ हजार ७० रुपैयाँ बचत भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकासित मिति

Loading...